दक्षिण अफ्रिकामा रेल दुर्घटना चार जनाको मृत्यु, ४० जना घाइते

1

जोहानेसवर्ग, दक्षिण अफ्रिका, २१ । दक्षिण अफ्रिकामा बिहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले एएफ्पीसँगको कुराकानीमा बताएका छन् ।

द्रुतगतिमा रहेको रेल एक मादबाहक ट्रकसँग ठोक्किँदा उक्त दुखद् घटना भएको प्रहरीले जनाएको छ ।

“जोहानेसवर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाड नजिकै भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बढी यात्रु गम्भीर घाइते भएका छन्,” चिकित्सकले ट्वीटरमार्फत बताएका छन् ।

घटनास्थलमा तत्काल पुगी प्राथमिक उपचार दिइरहेको ९११ नेटकेयर आपतकालिन स्वास्थ्य सेवाका चिकित्सकले केही गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि अस्पताल पठाइएको बताए । घाइतेमध्ये केही जनालाई गम्भीर चोट लागेकाले मृतकको सङ्ख्यामा थप वृद्धि हुने जनाइएको छ ।

यसैबीच अमेरिकी समाचार संस्था एपीले घाइतेको सङ्ख्या १०० भन्दा बढी भएको संक्षिप्त समाचार दिएको छ ।

स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले दुर्घटनास्थलबाट प्राप्त रेलमा आगलागीसमेत भएको र रेलका डब्बाबाट धुँवाको कालो मुस्लो निस्केका दृश्य सार्वजनिक गरेका छन् ।

अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.