सुध्रदै इँटा उद्योग

8

नगरकोट, २१ पुस । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि इँटा उद्योगी उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आएका ताथली–९ का राजकुमार लाखेमरुले आफ्नो भट्टालाई सुधारिएको फोर्स ड्राफ्ट प्रविधिमा रूपान्तरित गरेपछि इन्धनमा बचत, छोटो अवधिमै धेरै र स्तरीय इँटा उत्पादन भएको बताउनुभएको छ । पहिले सात महिनामा ६०÷६५ लाख इँटा उत्पादन हुने गरेकामा अहिले चार महिनामै ८०÷९० लाख इँटा उत्पादन भएको उहाँको भनाइ छ । उनको श्वेतभैरव फिक्स्ड चिम्नी इँटा उद्योगबाट पहिले ३० प्रतिशत पनि राम्रो इँटा निस्कन मुस्किल हुनेमा अहिले ९५ प्रतिशतसम्म गुणस्तरीय इँटा निस्कने गरेबाट सन्तुष्ट उहाँ अरूलाई पनि सुधारका लागि सुझाव दिनुहुन्छ ।

सोही इँटा भट्टामा हालै ग्यास फायरिङ गरी भट्टामा आगो लगाइएको छ । यसले इँटा पोल्न प्रयोग हुने कोइला र काठको खपत पनि २५÷३० प्रतिशतले बचत भएको छ । कोइलाको खपत कम हुँदा आर्थिक लाभका साथै वातावरण प्रदूषणमा कमी आएको छ । एक याममा उहाँलाई झण्डै ७०० टन कोइला जरुरत पर्नेमा अहिले ५०० टन भए पुग्छ । एक टन कोइला खरिद गर्न रु ३० हजार खर्च लाग्छ ।

भूकम्पले भट्टामा क्षति पुगेपछि उहाँले रु १२ करोड लगानी गरेर आधुनिक भट्टा निर्माण गर्नुभएको थियो । “शुरुमा यति धेरै लगानी गर्दा कतिको प्रतिफल आउने हो भन्ने आशंका थियो”, उहाँ भन्नुहुन्छ, “अहिले एक वर्षमा भएको प्रतिफल हेर्दा दुई तीन वर्षमै लगानी उठ्ने देखेको छु ।”

सरकारी मापदण्ड ५७ फिट रहे पनि इन्जिनियरिङ डिजाइनअनुसार पूरै कंक्र्रिट ढलान गरी बनाइएको उहाँको भट्टाको चिम्नी ६५ फिट अग्लो छ र चिम्नीबाट निस्कने धुवाँलाई प्रशोधन गरेरमात्रै बाहिर निष्काशन गर्ने प्रविधिमा जोड दिइएको छ । यसले गर्दा उहाँको भट्टाबाट अन्य भट्टाबाट जस्तो धुवाँको कालो मुस्लो निस्कँदैन ।

सामान्य सेतो बाफ मात्रै निस्कने भएकाले वरपरको वातावरण प्रदूषित छैन । यसमा एक त कोइलाको खपत नै कम लाग्छ भने कोइलालाई पनि राम्ररी बल्न दिन विशेष ध्यान दिइएको छ ।

पहिले तीन÷चारजना मजदूरले एकैपटक कोइला राख्दा राम्ररी बल्न नपाउने हुँदा सिधै धुवाँ मुस्लोका रूपमा बाहिर निस्कन्थ्यो । यसो हुन नदिन यस भट्टामा कोइलालाई धुलो बनाएर एकपटकमा चार÷पाँच सय ग्राम हाल्ने र आगोलाई छिर्कामिर्का गरी भित्र पठाइने भएकाले कोइला राम्ररी बल्न पाउने र इँटा पनि राम्ररी पोलिने गर्छ ।

परम्परागत रुपमा चल्दै आएका इँटा उद्योगलाई प्रदूषणमुक्त र ऊर्जा खपत कम गर्न बनाइएको नयाँ मोडल नै ‘जिक–ज्याक’ प्रविधि हो । एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र अन्य संस्थाको संयुक्त प्रयासमा इँटाभट्टाका लागि भनेर आधुनिक प्रविधिको जिक–ज्याक मोडल तयार गरेका थिए ।

शुरुमा नौवटा इँटा उद्योगबाट शुरु गरेको यो प्रविधि अत्यन्तै सफल भएको इसिमोडकी वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधानले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधिअनुसार चिम्नी निर्माण गर्दा खासगरी प्रत्यक्षरुपमा तीनवटा फाइदा हुन्छ । पहिलो वातावरण प्रदूषण कम, दोस्रो कोइलाको खपत कम र गुणस्तरीय इँटा उत्पादन र तेस्रो भूकम्प प्रतिरोधात्मक र मजदुरलाई सुरक्षित वातावरण ।

यस प्रविधिअनुसार चिम्नीभित्र जलेको कोइलाको कालो धुवाँ सिधै बाहिर निस्किँदैन । कालो धुवाँलाई फिल्टर गर्ने, कोइला राम्रोसँग जल्ने र बाहिर निस्किँदा नदेखिने सेतो धुवाँमात्र निस्कने गरी चिम्नीको निर्माण गरिएको भक्तपुर ताथलीमा श्वेतभैरव फिक्स्ड चिम्नी इँटा उद्योगका सञ्चालक राजकुमार लाखेमरुले बताउनुभयो ।

शुरुमा निर्माण गरिएका नौवटा इँटा उद्योगमा धुवाँको अवस्था मापन गर्दा मापदण्डभित्रै पाइएको वायुमण्डलीय वातावरण विशेषज्ञ प्रधानले बताउनुभयो । “हामीले नयाँ प्रविधिमा निर्माण भएका इँटा उद्योगका धुवाँ नापेर परीक्षण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “वातावरण प्रदूषण धेरै नै कम भएको छ ।”

त्यस्तै, नयाँ प्रविधिअनुसार इँटा उद्योग सञ्चालन गर्दा कोइला खपत धेरै कम मात्रामा झरेको छ । नयाँ मोडलमा कोइलाको प्रयोग ‘सिंगल फायरम्यान’ विधिबाट गरिन्छ । ‘सिंगल फायरम्यान’ अर्थात् कोइला पकाउन एकजनाले मात्र निश्चित मात्रामा कोइला हाल्छ ।

‘पहिला दुई–तीन जनाले कोइला हालेको हालै गर्थे । त्यसो गर्दा कोइला राम्रोसँग जल्न पाउँदैनथ्यो त्यसो गर्नु राम्रो रहेनछ”, भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले भन्नुभयो, “अहिले एकजनाले मात्र निश्चित मात्रामा कोइला हाल्छ, जसले गर्दा कोइला पूर्णरुपमा जल्छ र कालो धुवाँ कम हुन्छ ।”

‘सिंगल फायरम्यान’ विधि अपनाउँदा प्रत्यक्षरुपमा व्यवसायीलाई फाइदा पुगेको छ । यो विधि अपनाउँदा कम्तीमा २० देखि ३० प्रतिशत कोइला बचत भएको महासंघका अध्यक्ष महेन्द्र चित्रकार बताउनुहुन्छ ।

इँटा उद्योग सञ्चालनका लागि चाहिने खर्चमध्ये ४० देखि ४५ प्रतिशत खर्च ऊर्जामा मात्र खर्च हुन्छ । अहिले त्यसबाट ३० प्रतिशतसम्म बचत गर्नु भनेको व्यवसायीका लागि ठूलो फाइदा भएको मिनर्जी प्रालिका सुयश प्रजापतिको भनाइ छ ।

धुवाँलाई पनि चिम्नीभित्रै पानीको ट्याङ्कीमा मिसाएर निस्कन दिने र त्यसलाई पनि सफा पानी छर्कने हुँदा धुलोका कण चिम्नीबाट बाहिर निस्कन पाउँदैन । कार्बनयुक्त पानीलाई भट्टा बाहिर पोखरीमा जमाएर शुद्धीकरण गरी अन्य प्रयोजनमा ल्याउने गरिएको व्यवसायी संघका अध्यक्ष ह्योम्बा बताउनुहुन्छ ।

इँटा भट्टाकै कारण तीन वर्षअघिसम्म दिनहुँ भट्टाबाट निस्कने कालो धुवाँको मुस्लोले वातावरणमा परेको असरबाट चिन्तित बनेका स्थानीय बासिन्दाले अहिले निकै राहतको अनुभव गर्न थालेका छन् । भट्टा वरपर तरकारी तथा अन्य अन्नबाली पनि राम्रो नहुने समस्याबाट चिन्तित स्थानीय किसानले पनि अहिले राहतको अनुभव गर्न थालेका छन् ।

भूकम्पपछि झण्डै ३५० भट्टामा क्षति पुगेपछि तिनको पुनःनिर्माण इन्जिनियरिङ डिजाइनबाट गराउन अमेरिकी संस्था क्लाइमेट एण्ड हेल्थ रिसर्च नेटवर्क (चर्ण) तथा इसिमोडको प्राविधिक सहयोगमा मिनर्जी नामक संस्थाले विकास गरेको डिजाइनअनुसार भट्टा सुधार गर्ने राजकुमार पहिलो उद्यमी हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.