डाक्टर गोबिन्द केसी पक्राउ

140

 

काठमाडौं । सर्वाेच्च अदालतको मानहानीको आरोप लागेका डाक्टर गोबिन्द केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरको टोलीले डा. केसीलाई पक्राउ गरेको हो । यसअघि
अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । अनशनपूर्व पत्रकार सम्मेलन गर्दै डा. केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्यायाधीश पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले भने “हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा “।

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने केसीकोे माग छ । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने डा. केसीको माग छ ।

Leave A Reply

Your email address will not be published.