लवारीराम सत्रौँ पटक भलमन्सा

4,575

 

भीमदत्तनगर, ३ माघ । पश्चिम तराईका थारु चौधरी समूदायको प्रमुख चाड माघी पर्वको दोस्रो दिन विवाह व्रत, गाउँको मुखियादेखि भलमन्सा हँुदै गुरुवा चयन गर्ने चलन छ ।

त्यही प्रचलनअनुसार लवारीराम चौधरी १७औँ पटक गाउँको भलमन्सा चयन हुनुभएको छ । विसं २०५८ देखि गाउँको भलमन्सा रहँदै आउनुभएका चौधरी यस पटक पनि कञ्चनपुरको कृष्णपुर–२ वाणीस्थित मुक्त कमैया शिविरको भलमन्सा छानिनु भएको ।

सरकारले २०५८ सालमा मुक्त कमैयालाई पुनःस्थापना गरेयता टोलमा चौधरी निर्विरोध भलमन्सा चयन हुँदै आएका छन् । “गाउँलेले मेरो कामको मूल्यांकन गरेरै मलाई फेरी जिम्मेवारी दिएका छन्,” उहाँले भन्नुभयो, “गाउँको पूर्वाधार विकासदेखि झैझगडा मिलाउने कामसम्म भलमन्साले मिलाउनु पर्ने हुन्छ ।”

माघी पर्वका अवसरमा थारु बस्तीमा स्थानीयवासीले एक वर्ष कार्यअवधि राखेर भलमन्सा, गुरुवा, चौकीदार नियुक्त गर्ने प्रचलन छ । माघीकै अवसरमा भाइ छुट्टिने प्रचलन पनि थारु समुदायमा रहेको मुक्त कमैया शिविरका तुलसीराम चौधरी बताउनुहुन्छ ।

हलियाबाट मुक्त हुनुअघि शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा कमैया रहेका लवारीराम आफूकहाँ गाउँले सामाजिक कामका लागि निरन्तर आउने गरेको बताउनहुन्छ । “यस पटक पनि गाउँको सडकमा ग्राभेल हाल्नेदेखि बालश्रम रोक्नेसम्मका निर्णय समुदायमा भएका छन्,” चौधरीले भन्नुभयो, “भलमन्सालाई चौकीदार र गुरुवाबाट समेत सहयोग हुन्छ ।”

उक्त टोलमा तेस्रो पटक सहतिया राना गुरुवा र तेस्रो पटक बुझौना चौधरी चौकीदारमा नियुक्त हुनुभएको छ । “गाउँलेले काममा चित्त बुझाएनन् भने मतदान प्रक्रियाबाट समेत छान्ने गर्छन्,” भलमन्सा चौधरीले भन्नुभयो, “गाउँमा राम्रो काम गरे पुनः अवसर मिल्दै जान्छ ।”

सामाजिक रुपमा भलमन्सा गाउँमा सक्रिय रहने गरेको भए पनि गाउँको सुरक्षाका साथै सामाजिक रीति संस्कारअनुसार चौकीदार र गुरुवाले समेत आफ्नो जिम्मेवारी बहन गर्ने गरेका छन् । चौकीदार र गुरुवालाई प्रतिपरिवारले २० किलो धान संकलन गरेर दिने चलन छ ।

“त्यो नै उहाँहरुको ज्याला हो,” उहाँले भन्नुभयो । डेढ सय परिवार रहेको उक्त गल्लीसँगै वाणी मुक्तकमैया शिविरमा आठजना भलमन्सा माघीको अवसरमा नियुक्त भएका छन् । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी योे पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्छन ।

Leave A Reply

Your email address will not be published.