किन सुरु हुन सकेन सगरमाथाको उचाइ नाप्ने काम?

26

काठमाडौँ, २५ माघ । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन ।

सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन् ।

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरराष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।

मापन कार्य शुरु गर्नुपूर्व विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार ग¥यो ।

उक्त छलफलमा त्यसबखत सगरमाथाको उचाइ मापन गर्ने टोलीमा सहभागी हुनुभएका अमेरिकास्थित कोलोराडो युनिभर्सिटीका प्राध्यापक रोजार विह्याम, सर्वे अफ इन्डियाका प्रमुखलगायतले नेपालले नै सगरमाथाको उचाइ नाप्नु खुशीको विषय भएको बताउँदै आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको वचन दिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले राससलाई बताउनुभयो ।

नेपालले पहिलो पटक गर्न लागेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र त्यो सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । अहिले सबै पूर्वतयारी सकिएकाले मापनको कार्य अघि बढाएको विभागले जनाएको छ ।

विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई÷दुई स्थानमा उक्त बिन्दु राखिएको बताइन्छ । टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ र बाँकी खोज्ने क्रम जारी छ ।

दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत डंगोलको भनाइ छ ।

माघ २५ मा पहिलो टोली सिरहा जाने

विभागका अनुसार यही माघ १५ गते लेभलिङका लागि १३ सदस्यीय पहिलो टोली सिरहास्थित नेपाल–भारत सीमा मदार जाँदैछ । उक्त ठाउँसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागको भनाइ छ ।

विभागका अनुसार यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ ।

नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव छ र नयाँ प्रविधिका विषयमा समेत यसका जनशक्ति दक्ष भइसकेकाले उचाइ मापन दुई वर्षभित्र पूरा हुने विश्वास विभागको छ ।

ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ । वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङमा असर पुगेको÷नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ ।

 

विभागका अनुसार पहिले भएको ग्राभिटी मेशिन बिग्रिएपछि ग्राभिटी नाप्न विभागसँग अर्को मेशिन छैन । उक्त मेशिन खरिद गर्ने कि भाडामा ल्याउने भन्ने निर्णय विभागले गरिसकेको छैन । बजेट पुगे मेशिन खरिद गर्ने र नपुगे भाडामै ल्याउने विभागको तयारी छ ।

मापनका तीन विधि

विभागले उचाइ नाप्न तीन वटा विधि प्रयोग गर्दैछ । ‘डाइरेक्ट मिजरमेन्ट’अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ ।

त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ, जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो ।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । त्यतिबेला चीनले सगरमाथाको उचाइ आठ हजार ८४४ मिटर आसपास निकालेको थियो । तर, त्यसले अन्तरराष्ट्रिय मान्यता पाउन सकेन ।

एउटा मात्र विधि प्रयोग गर्दा विश्वसनीयतामा शंका उठाइन सक्ने भएकाले ‘हाइब्रिड’ पद्धति अपनाइने विभागको भनाइ छ ।
विभागले आगामी दुई वर्षमा उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्ने जनाएको छ । तल्लो भू–भागमा विभागकै टोलीले सबै काम गर्ने भए पनि माथिल्लो भेगमा भने पर्वतारोही प्रयोग गर्नुपर्ने र त्यसका लागि केही छलफलसमेत अघि बढेको डंगोलको भनाइ छ ।

उचाइ नाप्न एक याममा दुई पटक मात्रै अनुकूलता हुन्छ । सम्भावित प्रकोपले पनि यस्तो काममा प्रभाव पार्ने भएकाले तोकिएको समयसीमामै काम सम्पन्न गर्न सकिन्छ भनेर यकिन गर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

बजेटको कमी हुने छैन
विभागका अनुसार यो कार्यका लागि बजेट अभाव छैन । अनुमानित रु २५ करोड खर्च हुने यस कार्यका लागि प्रारम्भिक चरणमा ९आव २०७४÷७५ मा० रु दुई करोड निकासा भइसकेको छ । यसअघि सन् २०११ मै उचाइ मापनसम्बन्धी कार्यविधि विभागले तयार पारेको थियो तर बजेटको व्यवस्था हुन नसकेर अगाडि बढ्न सकेन ।

 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकम अर्थ मन्त्रालयबाट व्यवस्था हुने सुनिश्चित भएको जानकारी दिनुभयो ।

रासससँग उहाँले भन्नुभयो, “सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गत वर्ष नै प्रस्ताव गरेका थियौँ । सोहीअनुरुप सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि हामीले आवश्यक तयारी गरी मापनको कार्य अघि बढाएका छौँ ।”

सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाइ आठ हजार ८४० मिटर निर्धारण गरिएको थियो । सन् १९५४ मा एसओआइका विएल गुलाटीले मापन गर्दा आठ हजार ८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८४४।४३ मिटर उचाइ रहेको जनाएका थिए ।

सन् १९९९ मा बोस्टोन म्युजिएम अफ साइन्सका प्रो व्रड बास्र्बनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्दा आठ हजार ८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो । नेपाल सरकारले भने आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.