मुख्यमन्त्री र प्रदेश संसदका विभिन्न पद भागवण्डा गर्न वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । ६ प्रदेशको मुख्यमन्त्री र सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन आज बैठक बस्न लागेको हो ।
यसअघि राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ । मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउने बैठक बस्नु अघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । शुक्रवार साँझ ओली निवास बालकोटमा कार्यदलको ब्रिफिङ सुनेपछि गोप्य वार्ता गर्ने भन्दै ओली र प्रचण्ड बालकोटबाट अन्यत्रै गएका थिए ।
कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख लिन लागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्काे दलको हुनुपर्ने प्रस्ताव गरेको छ । यसमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए ।
सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने एमालको प्रस्ताव छ ।
