प्रदेश २ को पहिलो बैठकमै हंगामा, संसद सुरु हुनासाथ अवरुद्ध

205

जनकपुर, २१ माघ । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठकमा विरोध गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।

संसद बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् । । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिए पनि मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।

त्यसपछि राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएपछि सांसदहरु आआफ्नो स्थानबाट उठे । तर एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाएपछि संसद बैठकमा हंगामा भएको हो ।

 

तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्काे बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । त्यसपछि मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

अहिले कार्यसूचीअनुसार बैठक चलिरहेको राजपा सांसद सुमनले न्यूजभ्यूज नेपाललाई बताए ।

Leave A Reply

Your email address will not be published.