संरक्षण निबन्ध प्रतियोगितामा रिमाल विजयी

 

रसुवा । विद्यालयस्तरदेखि जैविक विविधता संरक्षणमा चेतना फैलाउने उद्देश्यले आज पहिलो पटक ‘संरक्षण निबन्ध प्रतियोगिता’ सम्पन्न भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर गेमस्काउट केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) का अनुसार निकुञ्ज क्षेत्रको वन, वनस्पति वन्यजन्तुलगायत समग्र जैविक विविधताको संरक्षणमा सानो उमेरदेखि नै चेतना फैलाउने उद्देश्यले रसुवा माविका छात्रछात्रामाझ ‘ नेपालमा वन्यजन्तु संरक्षणका लागि संरक्षण शिक्षा आजको अपरिहार्य आवश्यकता’ विषयको निबन्ध प्रतियोगिता सम्पन्न गरिएको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जबाट आयोजित उक्त निबन्ध प्रतियोगितामा कक्षा ८, ९ र १० का प्रतिस्पर्धी ४५ छात्रछात्रामध्ये प्रथम हुने अविप रिमाल, द्वितीय सुष्मा तामाङ र तृतीय सुकुमाया तामाङलाई प्रअ तेम्पा रिसाङ घलेलगायतले प्रमाणपत्रसँगै शब्दकोश, नोटकपी, कलम, कापी, सामान्य ज्ञानलगायत सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी अन्य पाँच जनालाई उत्कृष्ट र दुई जनालाई सान्त्वना पुरस्कारसमेत वितरण गरिएको भेटवालले बताउनुभयो । रासस