अन्य भाषासहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक

 

पोखरा । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले अन्य भाषासहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक भएको बताउनुभएको छ ।

भाषा आयोग र शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको भाषा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उहाँले संरक्षणको अभावमा धेरै भाषा लोपोन्मुख अवस्थामा पुगेकाले तीनको संरक्षण र संबर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

“भाषाको विकासका लागि लेख्य एवम् पाठ्य सामग्रीको विकास हुनु आवश्यक छ,” उहाँले भन्नुभयो, “भाषा आयोगले नेपालका अन्य भाषासहित नेपाली भाषालाई समृद्ध बनाउनका लागि देशका सबै प्रदेश समेटिने गरी छलफल एवम् अन्तक्र्रिया अघि बढाएको छ ।”

भाषाविद् प्राडा योगेन्द्र यादवले नेपालमा भएका विभिन्न भाषाको विद्यमान अवस्थाबारे पुनःमूल्याङ्कन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

“भाषाको विकासका लागि लेख्य परम्पराको विकास हुनु आवश्यक छ,” उहाँले भन्नुभयो, “नेपालमा पहिचान भएका कुल भाषामध्ये ९६ प्रतिशत भाषा बोल्नेको सङ्ख्या कुल जनसङ्ख्याको जम्मा चार प्रतिशत मात्र छ ।”
पछिल्लो जनगणनाका क्रममा नेपालमा १२३ भाषाको पहिचान गरिएको थियो । भाषा लोपोन्मुख अवस्थामा पुग्नुका साथै भाषा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई दृष्टिगत गर्दै यिनीलाई जीवन्त बनाउन भाषा आयोगको भूमिका महत्वपूर्ण हुने इजोनका सल्लाहकार प्रकृति अधिकारीले बताउनुभयो ।

इजोनका महासचिव सूर्य पाण्डेले नेपालमा बोलिने भाषाको संरक्षण र विकासका लागि भाषा आयोगको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै संरक्षणको अभावमा भाषा नै लोप हुने अवस्था आउन दिन नहुने बताउनुभयो ।

क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले भाषा आयोगको प्रभावकारी भूमिका निर्माणका लागि क्षेत्र एवम् प्रदेशस्तरमा गरिने छलफल एवम् अन्तक्र्रिया महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भाषा आयोगलाई पूर्णता दिनुपर्नेमा जोड दिँदै आयोगले सबै भाषाको पहिचान गरी तीनको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो । रासस