पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।

अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग ्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।

मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ । चाँडो मन्त्री फेरिँदा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको समग्र विकासमा कस्तो असर पर्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही समग्र पर्यटन क्षेत्रको नीति बनाउने र लागू गर्ने मन्त्री, सचिवदेखि विभागीय प्रमुख फेरबदल भइरहँदा यसले राष्ट्रिय मात्र नभई मन्त्रालयले लिने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत असर परेको बताउनुहुन्छ । “म अच्चम्मित छु सबैभन्दा चाँडो मन्त्री फेरिने मन्त्रालय पनि पर्यटन नै रहेछ, यसले नेपालको छवि खराब बनाएको छ, एउटा आउँछ, नीति, योजना र कार्यक्रम बनाउँछ, अर्को आयो बुझ्नै समय लाग्छ, बुझे पनि कार्यान्वयन गर्न कठिन हुन्छ,”, उहाँले भन्नुभयो ।

अर्थ, परराष्ट्रपछि, विदेशीको चासो रहने मन्त्रालय पर्यटन नै हो । बजेटको कम आकर्षण भए पनि अन्तर्राष्ट्रिय प्रभाव पार्ने हँुदा दलीय भागबन्डा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमका जहाज खरिदसँग जोडिएको स्वार्थका कारण पनि मन्त्री चाँडो फेरिने गरेको पूर्वमन्त्री शाहीको भनाइ छ ।

नीतिगत निर्णय सरकारले नै गर्ने र त्यसको कार्यान्वयन विभागीय प्रमुखबाट हुनुपर्ने हुँदा फेरबदलको प्रवृत्तिले समग्र विकास प्रभावित हुन्छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थायी सरकार हुनुपर्ने सरोकार भएकाहरु औँल्याउँछन् ।

मन्त्री र विभागीय प्रमुख फेरिँदा पर्यटनसँग सम्बन्धित राष्ट्रिय महत्वका दीर्घकालीन योजना, विकासे गुरुयोजना प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज खरिदसम्म नेतृत्व फेरिँदा असर पुगेको बताइन्छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ राजनीतिक अस्थिरता र सुशासन प्रणालीको स्थायित्व नभएका कारण सरकार मन्त्री फेरबदलले समग्र विकासमा असर पुग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मन्त्री फेरिए पनि नीति फेरिनु भएन तर, त्यो हँुदैन, मन्त्री, सचिव फेरिएसँगै नीति कार्यक्रम बदल्दा नीतिगत स्थायित्व हँुदैन, यसले समग्र विकासमा असर पुग्छ ।”

पर्यटन मन्त्रालयको विवरणानुसार पाँच वर्षमा १२ मन्त्री र एक वर्षमा पाँच मन्त्री फेरिएका छन् । विसं २०७२ देखि २०७३ का अवधिमा पाँच मन्त्री फेरिएका हुन् । सो अवधिमा आनन्द्रप्रसाद पोखरेल, बलबहादुर महत (राज्यमन्त्री), जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ (राज्यमन्त्री), दिलनाथ गिरी पर्यटनमन्त्री बन्नुभयो । सबैभन्दा छोटो अवधि मन्त्री हुनेमा जितेन्द्रनायारण देव हुनुहुन्छ । उहाँ २०७४ वैशाख २५ गते नियुक्त भई जेठ २४ गतेसम्म झन्डै महिना दिन मन्त्री बन्नुभयो । गिरी २०७३ फागुन २६ गतेदेखि २०७४ वैशाख १९ गतेसम्म पर्यटनमन्त्री बन्नुभयो ।

तीन वर्षमा १० मन्त्री

मन्त्री फेरिँदै एकपछि अर्को कीर्तिमान कायम गर्नेमा पर्यटन मन्त्रालय नै अगाडि छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले आफ्ने तीन वर्षीय अवधिमा १० पर्यटनमन्त्री, पाँच सचिव र छ महानिर्देशक फेरिएको बताउनुभयो । यो पर्यटनमन्त्री लोकेन्द्र विष्टदेखि पछिल्ला देवसम्मको अवधि हो । “नीतिगत निर्णय सरकारले नै गर्ने हो, विभागीय प्रमुख फेरिँदा सबै काम प्रभावित हुन्छ । पर्यटनको दिगो विकासका लागि स्थायी सरकार हुनुप¥यो, पूर्वाधार तयार गर्ने सरकारको काम हो त्यसमा निजी क्षेत्रले साथ दिने हो,”, उहाँले भन्नुभयो ।

पाँच वर्षमा बाह्र मन्त्री
२०६९ देखि २०७३ का अवधिमा १२ पर्यटनमन्त्री बनेका छन् । विष्ट, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, कृपाशुर शेर्पा, पोखरेल, महत (राज्यमन्त्री), शाही, बानियाँ (राज्यमन्त्री), गिरि र देव मन्त्री बन्नुभयो । उहाँहरुको अवधि चार महिनादेखि एक वर्षसम्म रह्यो ।

पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठको अनुभवमा मन्त्री सचिव फेरिरहँदा संस्थागत संरचनामै असर पुग्ने मात्र नभई समग्र आर्थिक विकासमा घाटा हुन्छ ।“नेपालको तुलनात्मक लाभका हिसाबले सबैभन् दा महत्वको पर्यटन क्षेत्रमा पर्यटन मन्त्री, सचिव फेरिरहनु भनेको दुर्भाग्य हो, यसले आर्थिक विकासमा घाटा हुन्छ, नेपालको छविमा समेत असर पुगेको छ,”, उहाँले भन्नुभयो । रासस