विद्यार्थी सङ्ख्या घटबढ भए पनि त्रिविको प्रभाव उस्तै

काठमाडौँ । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ ।

स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन । विसं २०७१ मा कीर्तिपुर क्याम्पसबाट सुरु भएको सेमेस्टर प्रणाली हाल काठमाडौँ उपत्यकाका क्याम्पसहरुमा लागू भएको छ । यो प्रणालीमा नियमित पढाइ, हाजिरी र मूल्याङ्कन हुने हुँदा गुणस्तर बढेको त्रिवि नेतृत्वको भनाइ छ भने तयारीबिना यो प्रणाली आएकाले यसको दिगोपना र विद्यार्थी टिक्ने क्षमताबारे विभिन्न प्रश्न पनि उठेका छन् ।

हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य सुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ ।

नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो । त्रिविका क्याम्पसलाई थप स्वायत्त बनाउँदै मानित विश्वविद्यालयको अवधारणामा लाने छलफल पनि चलिरहेको छ । त्रिवि र अन्य विश्वविद्यालयलाई बजेट विनियोजन, अनुदान र अनुगमनको काम विश्वविद्यालय अनुदान आयोगले गर्छ ।

विश्वका प्रख्यात विश्वविद्यालयमा बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज, संयुक्तराज्य अमेरिकाको हारवर्ड, जापानको टोकियो, चीनको पेचिङ र भारतको दिल्ली विश्वविद्यालय अगुवा विश्वविद्यालय हुन् । आजभन्दा ९२० वर्षअघि सन् १०९७ मा बेलायतमा अक्सफोर्ड विश्वविद्यालय स्थापना भएको थियो ।

हाल उच्चशिक्षा क्षेत्रमा कुल चार लाख ४१ हजार ४६१ रहेको आर्थिक वर्ष २०७३÷७४ को आर्थिक सर्वेक्षणले देखाएको छ । आव २०६९÷७० मा त्रिविमा मात्र कुल पाँच लाख चार लाख ४३७ विद्यार्थी थिए भने आव २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी थिए । आव २०७२÷७३ मा ३२ दशमलव ९४ प्रतिशत वृद्धि भई तीन लाख ६० हजार २५४ पुगेको छ । यो नै अहिलेको त्रिविको विद्यार्थी सङ्ख्या हो । हाल त्रिविमा शिक्षक र कर्मचारीको सङ्ख्या.झन्डै १५ हजार (सात हजार ५९२ शिक्षक र सात हजार २६७ कर्मचारी) छन् ।

राजनीतिक भागबन्डा, पदाधिकारीबीचको बेमेल, विद्यार्थीको हडताल, प्राध्यापकहरु त्रिविभन्दा बाहिर व्यस्त हुने, अपर्याप्त आधुनिक प्रविधि, अस्तव्यस्त वार्षिक क्यालेन्डर, समयसापेक्ष पाठ्यक्रम अभाव, प्राविधिक र व्यावसायिक शिक्षामा कम प्राथमिकता, अनुसन्धान केन्द्रहरु कामविहीन हुनु त्रिविका चुनौती हुन् । प्रवीणता प्रमाणपत्र तह विस्थापन र निजी क्षेत्रका कलेजको विस्तार तथा त्यहाँ देखिने अस्वस्थ प्रतिस्पर्धासँगै त्रिवि ओझेल पर्न खोजे पनि यसको भरपर्दाे विकल्प तयार हुन सकेको छैन । सुलभ शुल्कका साथै बिहानी, दिवा र रात्रि सत्रका कक्षा सञ्चालनका कारण विपन्न र मध्यम वर्गका विद्यार्थीको रोजाइ त्रिवि हुँदै आएको छ । इन्जिनियरिङ, चिकित्सा, कृषि र वन विज्ञानजस्ता विषयमा त्रिविको उत्पादन अब्बल देखिन्छ भने मानविकी, सामाजिक शास्त्रजस्ता विषयका शोधपत्रहरु भाडामा तयार गरिने प्रवृत्तिले गुणस्तर खस्केको छ ।

वार्षिक करिब रु १५ अर्ब बजेट भएको त्रिविबाट बर्सेनि विभिन्न तहमा भर्ना हुने र उत्तीर्ण हुनेको सङ्ख्यामा उतारचढाव भइरहन्छ । उत्तीर्ण हुनेमध्ये सबैले त्रिविबाट दीक्षित हुन नचाहनुले यसको आकर्षण घटेको त होइन भन्ने प्रश्न पनि उठ्ने गर्छ । विसं २०७३ पुस १४ त्रिविले ४२आँै दीक्षान्त समारोह गर्दा ८३ हजार ४२५ दीक्षित हुन योग्य थिए तर नौ हजार ७३४ ले मात्रै दीक्षान्त समारोहमा भाग लिन आवेदन दिए ।

विभिन्न अध्ययन संस्थान तथा सङ्कायमा ६० आङ्गिक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका कार्यक्रममा मुलुकभित्रका मात्र होइन विदेशका विद्यार्थीसमेत त्रिविमा पढ्न आउने क्रम देखिएको छ । विश्वका १५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग त्रिविले शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संसाधनका क्षेत्रमा सहयोग आदानप्रदान गर्दै आएको हो । त्रिविले चाँडै इन्टिग्रेटेड माउन्टेन स्टडी सुरु गर्दैछ जहाँ हिमालयन रेन्जमा भएका २३ मुलुकबाट विद्यार्थी आउने अपेक्षा गरिएको छ ।

मुलुकको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम मानव स्रोत संसाधन तयार गर्ने र उच्चशिक्षामा स्तरीय ज्ञान दिने लक्ष्य त्रिविले बोकेको छ । संस्कृति र परम्पराको विकास र संरक्षण, कला, विज्ञान, प्राविधिक र व्यावसायिक क्षेत्रमा समयसापेक्ष, बृहत्, प्रयोगशील ज्ञानको सिर्जना र अनुसन्धानमा संलग्न हुने पनि यसको उद्देश्य देखिन्छ ।

उपकुलपति प्रा डा तीर्थराज खनियाँ केन्द्रीय क्याम्पस कीर्तिपुरलाई सेमेस्टर प्रणालीसँगै उत्कृष्टताको नमुना (सेन्टर फर एक्सिलेन्स) को मान्यताका साथ प्रविधिको अधिकतम उपयोग गरी इन्टरनेट सेवाको माध्यमबाट दूर शिक्षा र अनलाइन शिक्षा प्रदान गरी नियमित कक्षाकोठामा उपस्थित हुन नसक्ने टाढा टाढाका विद्यार्थीलाई समेत शिक्षा दिन थालिएको बताउनुहुन्छ । त्रिवि केन्द्रीय क्याम्पसमा उत्तीर्ण दर ८० प्रतिशत भए पनि अन्य क्याम्पसको उत्तीर्ण दर ५० प्रतिशत नाघ्न सकेको छैन ।

उहाँ विज्ञान विषय अध्ययनका लागि चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा उच्चस्तरको विज्ञान तथा प्रविधि केन्द्रको स्थापना हुनु र रिमोट सेन्सिङ सेटलाइट स्थापना हुँदै विज्ञान विषयका विद्यार्थी चीनमा गएर अध्ययन अनुसन्धान गर्न थाल्नु आफ्नो कार्यकालको उपलब्धि मान्नुहुन्छ । “विद्यार्थी सङ्ख्या कति छन् भन्दा पनि गुणस्तर अभिवृद्धि र संसारभर चलेका चल्तीको विश्वविद्यालयमा विकसित गर्ने लक्ष्य महत्वपूर्ण हो,” उपकुलपति डा खनियाँ भन्नुहुन्छ – “त्रिवि अल्मुनाइ गठन, स्ववियु निर्वाचन, कृषि र वन विश्वविद्यालय तथा त्रिविको भौतिक पूर्वाधार विषयको विवादको समाधान पनि हामीले गरेका छौँ । अहिले पनि मुख्य जोड गुणस्तर वृद्धिमै दिएका छौँ ।”

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय त्रिवि नेतृत्व सहभागितामूलक हिसाबले अघि बढ्न सकेको भए थप उपलब्धि हासिल हुन सक्ने बताउनुहुन्छ । उपाध्याय भन्नुहुन्छ – “त्रिविले केही गरेको छैन भन्न खोजेको होइन तर मिलेर गरेको भए यसभित्रका अन्य बेथिति अन्त्य गर्न सकिन्थ्यो ।” सहभागिताको अर्थ राजनीतिक भागबन्डा नभई सुधारको काममा सबैको साथ लिन सक्नु हो भन्दै उहाँले त्रिविले प्राध्यापकहरुलाई दक्षिण एसियाली मुलुकस्तरको सेवा सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष डा यादवप्रकाश लामिछाने हचुवाको भरमा सेमेस्टर प्रणाली लागू भएका कारण विद्यार्थी घट्ने खतरा बढेको र विश्वविद्यालयमा पूर्वाधार एवम् विज्ञान प्रविधिको प्रयोग नहुँदा अहिले पनि २० वर्ष पुरानै नोट बुक पुस्तकका आधारमा पढ्नु, पढाउनु पर्ने बाध्यता रहेको बताउनुुहुन्छ ।

डा लामिछाने भन्नुहुन्छ – “त्रिविको आफ्नै पहिचान भए पनि यसको आन्तरिक र बाह्य वातावरण बिग्रनुमा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारबीच तालमेल नहुनु हो । तालमेल नहुँदा समयमा सही निर्णय हुन सक्दैन । त्यसको असर गुणस्तरमा परिरहेको छ ।” रासस