निर्माणकार्य सम्पन्न नहुँदै उप्कियो कालोपत्रे

418

महोत्तरी, ३ पुस । निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच कालोपत्रे सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो ।

स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको सिंहले बताउनुभयो ।

हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाले जानकारी दिनुभयो । सडकमा हाल दैनिक रुपमा ५९ वटा टिपर सञ्चालनमा रहेको झाले बताउनुभयो ।

आफूले आइतबार यस सम्बन्धमा नगर कार्यपालिकाको बैठकमा प्रस्ताव राखे पनि सो उपर ठोस् निर्णय हुननसकेको झाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताउनुभयो । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।

सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले स्वीकारनु भएको छ । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख महतोले बताउनुभयो ।

स्थानीयवासीले सडक अवरुद्ध गरेर विकास निर्माणमा अवरोध नगरी सरोकारवाला निकायलाई समयमै सचेत गराएर समस्या समाधानको लागि पहल गर्न नगरप्रमुख महतोले सबैमा अनुरोध गनुभएको छ ।

Leave A Reply

Your email address will not be published.