साफ च्याम्पियनसिप शुक्रबारदेखि

409

काठमाडौँ, १ भदौ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई पराजित गरेर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य छ भन्नुभयो । उहाँले अर्को महिना नेपालमै हुने एएफसी १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिताले सहयोग पुग्ने भनाइ व्यक्त गर्नुभयो ।

नेपाली टोलीका कप्तानमा रोशन थापा मगर छन् । टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका हुन् । समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल भने शनिबार माल्दिभ्ससँग खेल्दै उद्घाटन गर्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा भने बंगलादेश, भुटान र श्रीलंका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गत वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो ।
गौरिका र जोहनाको राष्ट्रिय कीर्तिमान

नेपाल पौडी संघको आयोजनामा भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीबाज गौरिका सिंह र जोहना लामाले नयाँ राष्ट्रिय र्कीिर्तमान कायम गरेका छन् ।

सातदोबाटोस्थित अन्तरराष्ट्रिय पौडी पोखरीमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको ५० मि बटरफ्लाई स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । पचास मि बटरफ्लाइको हिट चरणमा उनले २९.०४ सेकेण्ड समय खर्चदै दूरी पार गरेकी हुन् ।

नेपाली सेनाबाट प्रतिनिनित्व गर्दै खेलेकी गौरिकाल भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा एक रजत र तीन कास्यपदक हात पारेकी थिइन् । यसअघि उक्त कीर्तिमान पौडीबाज शोफिया शाहका नाममा थियो । शोफियाले सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२.०६ सेकेण्ड समय खर्चँदै दूरी पार गरेकी थिइन् ।

त्यसैगरी एपिएफकी जोहनाले दुई सय मि ब्रेस्टस्ट्रोकमा विविधा रिमालका नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३ मि ०७.२२ से खर्चँदै दूरी पूरा गरिन् । यसअघि श्रीलंकामा सन् २००६ मा भएको दशौँ सागमा विविधाले ३ मिनेट १२.८३ सेकेन्ड समय लगाएर दूरी पार गरेकी थिइन् ।

विभिन्न २९ स्पर्धामा खेलाइएको दुईदिने उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रसहित आर्मी, पुलिस र एपिएफका १४४ खेलाडीको सहभागिता छ । रासस

Leave A Reply

Your email address will not be published.