नुवाकोट । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानको नुवाकोटमा समापन गरिएको छ । नुवाकोट सदरमुकाम विदुरको नेपाली कांग्रेस पार्टी कार्यालयमा बुधबार जनजागरण कार्यक्रम समापन भएको घोषणा गरिएको हो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्दिय सदस्य तथा प्रतिनिधिसभा सांसद बहादुर सिंह लामालगायत कांग्रेस नेताहरुको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. कोइरालाले जनजागरण अभियानले जनतामा ल्याएको उत्साहमाथि प्रकाश पार्नु भएको थियो । यस्तै कांग्रेस केन्द्रिय सदस्य एवं सांसद लामाले दुई तिहाइको ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेको अवस्थामा कांग्रेसले जनताको घरघरमा पुगेर उहाँहरुको दुख बुझ्ने प्रयास गरेको बताउनु भयो । सरकार भ्रष्टाचारमा डुवेकाले जनतालाई सुशासन दिन नसकेको पनि उहाँको भनाई छ । सरकारले जनअपेक्षा अनसार काम गर्न नसकेको बेला कांग्रेसको जनजागरण कार्यक्रमले जनतालाई उत्साहको संचार गरेको नेता लामाको भनाई छ ।