झापामा हालसम्म बाढीबाट एघारको मृत्यु

183

भद्रपुर, ३१ साउन । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् ।

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एकजना बच्चा छन् ।

बाढीका कारण प्रभावित परिवार दुई हजार १९ र विस्थापित परिवार एक हजार ८९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ ।

विस्थापित परिवारमा राहत एवं उद्धारको कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । रासस
–––––––

Leave A Reply

Your email address will not be published.