अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

220

काठमाडौँ, २१ । अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन आजबाट यहाँ शुरु भएको छ ।

नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजको आयोजनामा शुरु भएको सो सम्मेलनमा नेपाल, भारत, मंगोलिया, इटलीलगायत २० मुलुकका ८० जना प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ ।

महायानी परम्पराअन्तर्गत गेलुक्पा सम्प्रदायका कुल देवतालाई दोर्जे शुग्देन भनिन्छ ।

सम्मेलनमा विश्वमा विभिन्न सम्प्रदायमा विभाजित बौद्ध धर्मावलम्बीलाई वैचारिक रुपमा एकताबद्ध गर्ने, बौद्ध साहित्य, उपदेश र दर्शनलाई सरलीकरण गरी अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्नेलगायत विषयमा छलफल केन्द्रीत हुने आयोजकले जनाएको छ ।

सो अवसरमा रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकमा सबै धर्मावलम्बीलाई आ–आफ्नो धार्मिक गतिविधि सञ्चालन गर्ने स्वतन्त्रता संविधानले दिएको उल्लेख गर्दै विश्व शान्ति, अहिंसा, भ्रातृत्व र सद्भाव कायम गर्न बौद्ध दर्शनले ठूलो शिक्षा प्रदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिन दुःखी, गरिब र असाह्यको सेवा गर्न बौद्ध साहित्यले प्रेरणा प्रदान गरेको छ, त्यसकारण यो धर्म उपयोगी छ, नेपालको वैदेशिक नीति पञ्चशीलका आधारमा तयार भएको छ, जसमा बुद्ध साहित्यमा नैतिकताको ठूलो शिक्षा पाइन्छ ।”

पूर्र्वमन्त्री शङ्कर कोइराला र सांसद कृष्णगोपाल श्रेष्ठलगायतले विश्वलाई शान्तिको शिक्षा दिने गौतम बुद्धको जन्म नेपालमा भएको भए पनि यहाँ बुद्ध दर्शन र साहित्यको उल्लेख्य प्रचार हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष बसुन्धरा श्रेष्ठ (लामा) ले नेपालमा अन्तर्राष्ट्रिय बौद्ध धर्मको सम्मेलन गर्न पाएकामा खुसी व्यक्त गर्दै विश्वमा शान्ति र एकता कायम गर्न यो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.