एमाले- माओवादीलाई मुख्यमन्त्री छान्न सकस! दलभित्र मिलाउनु कि बाहीर?

203

काठमाडौं, १४ माघ । बाम गठबन्धनलाई प्रदेश मुख्यमन्त्री छान्न ठूलो सकस परेको छ । विशेषगरी ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंग्याउन सकस परेको हो ।

माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ । तर एमालेले सो प्रदेशको प्रदेशसभामा एमाले एक्लै ५० प्रतिशत रहेकाले बहुमत भएको दलले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेको छ ।

प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत रहेकाले माओवादीले मुख्यमन्त्री दाबी गरेको छैन भने प्रदेश नम्बर ५ मा चुनावअघि नै एमालेका शंकर पोखरेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेकाले माओवादीको दावी छैन ।

प्रदेश नम्बर ४ मा एमालेका दुई बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ प्रतिस्पर्धामा छन् । तर प्रदेश ६ र ७ मा माओवादीको दाबी छ ।

वामपन्थी बहुमत रहेका ६ वटा प्रदेशमध्ये एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री पाउँदा ६० र४० को अवधारणाअनुसार हुने माओवादी को तर्क छ भने ३ प्रदेशको सभामुख आफूले पाउनु पर्ने माओवादीको जिकिर छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदमा पनि ६०र४० को अनुपातमा दुवै दलको प्रतिनिधित्व हुनुपर्ने माओवादीको प्रस्ताव छ । यी सबै विषयमा छलफल गरेर सहमतिमा टुंगो लगाइने कार्यदलका संयोजक नेम्वाङले बताए ।

वाम कार्यदलको बैठक आइतबार बिहान ११ बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तयारी भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.