नुवाकोट, १० फागुन ।
खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले विश्व सम्पदा सूचीमा प्रस्तावित नुवाकोट दरबार क्षेत्रको खानेपानीको समस्या समाधान गर्न तत्काल काम सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
मंगलबार नुवाकोट दरबार क्षेत्रको भ्रमण गर्दै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका मन्त्री खानले नुवाकोट दरबार क्षेत्रको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको हो । पछिल्लो ६० वर्षदेखि नुवाकोट क्षेत्रका बासिन्दाले पानीको अभाव झेल्दै आएपनि यो समस्या समाधान हुन नसकेको स्थानीयले गुनासो गरेका थिए ।
धेरैले आश्वासन दिने गरेपनि आफ्नो समस्या कसैले सम्बोधन नगरेका कारण अब त कसैलाई भन्न पनि मनलाग्न छाडेको एक स्थानीयको गुनासो छ । नुवाकोटे जनताको मत लिएर पटक पटक केन्द्रिय सत्ताको बागडोर सम्हाल्न धेरै नेता पुगे पनि विश्व सम्पदा सूचीमा प्रस्तावित नुवाकोट दरबार क्षेत्रको पानी अभावले कसैलाई नछोएको भन्दै केही स्थानीयले आक्रोश पनि व्यक्त गरे । यति लामो समयदेखि जनताका समस्या समाधान नभएको देख्दा आफूलाई आश्चर्य लागेको मन्त्री खानको भनाई छ । अब आफूले छिटो भन्दा छिटो समस्या समाधानको पहल गर्ने उहाँको भनाई छ ।