नुवाकोट, १० फागुन ।
संघिय राजधानी काठमाण्डौबाट भौगोलिक निकटता रहेर पनि विकासका दृष्टिले पछि परेको नुवाकोटको खानेपानी समस्या समाधान गर्न खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले मंगलबार नुवाकोटको खानेपानीको मुहान र पानीको स्रोतको स्थलगत अनुगमन गर्नु भएको छ ।
नुवाकोटको पानीको समस्या सम्बन्धमा स्थलगत अनुगमन गर्ने उद्धेश्यले मन्त्री खान काठमाण्डौबाट प्राविधिक, इन्जिनियर र सहयोगिका साथ नुवाकोट पुग्नु भएको हो । काठमाण्डौबाट सिधै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटार पुग्नु भएका मन्त्री खानले गेर्खुटारको खानेपानीको समस्या सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
नुवाकोट र रसुवाको सिमाना वेत्रावतीस्थित फलाखु खोलाबाट पानी ल्याउनसक्ने संभावनाबारे बुझ्न मन्त्री खान आफै फलाखु खोलाको निरिक्षणमा पनि पुग्नु भएको थियो । प्राविधिक र इन्जिनियरले फलाखु खोलाबाट गेर्खुटारसम्म खानेपानी ल्याउन सक्ने संभावना र स्थानको पनि अवलोकन गरेका थिए । गेर्खुटारमा स्थानीयहरुसँग अन्तरक्रिया गर्दे मन्त्री खानले फलाखु खोलाबाट गेर्खुटारसम्म खानेपानी ल्याउने कार्यको सुरुवात तुरुन्त गर्ने प्रतिवद्धता जनाउनु भयो ।
गेर्खुटारको खानेपानी समस्याको बारेमा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले मन्त्री खानलाई जानकारी गराउनु भएको थियो । यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गणेश नेपाल, समाजसेवी नारायण बहादुर पाण्डे, मुकुन्द नेपाल, शिव बहादुर पाण्डे, उद्धव खतिवडा लगायतले पनि गेर्खुटारको पानीको समस्या र संभावित उपाएका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो । गाउँमै बोरिङ खनेर पनि पानीको समस्या समाधान गर्न सकिने विकल्पमा पनि कुराकानी भएको थियो ।
त्रिशुली नदि नजिक रहेकाले लिफ्टमाध्याम वाअन्य उपाएका सम्बन्धमा पनि संभाव्यता अध्ययन आफुले तुरुन्त सुरु गर्न लगाउने मन्त्री खानले आश्वासन दिनु भयो । फलाखु खोलको अवलोकनपछि प्रारम्भिक अवलोकनबाट यो खानेपानी योजना सहज हुने देखिएको मन्त्री खानसँगै स्थलगत अनुगमनमा पुगेका इन्जिनियर हरेन्द्र चौधरीले बताउनु भयो ।