काठमाडौं, २१ माघ । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दै छ। बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ। पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ। हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन्।
प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ। हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ। पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ। सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए। ‘संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ।
प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ। बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
भद्रगोल व्यवस्थापन
प्रदेश ७ को प्रदेशसभा पहिलो बैठकका लागि जेनतेन सभाहलको तयारी पूरा भएको छ। जिल्ला समन्वय समितिको हललाई प्रदेशसभा हलका रूपमा मर्मत गरिए पनि त्यसको परिसरको धेरै काम बाँकी छ। बाहिर लगाइएको पर्खाल प्लास्टर नसुकेकाले रंग लगाइएको छैन भने संसदीय दलका कार्यालयमा पनि कुर्सी र मेच लगाउनै बाँकी छ।
संसद् भवनभित्र हुने संसदीय दलका कार्यालयमा रंगरोगन गरिए पनि कुन दलको कुन कक्ष हो भनेर बोर्ड लगाइएको छैन। जिल्ला समन्वय समितिको बोर्ड पनि समाचार तयार पारुन्जेलसम्म फेरिएको छैन।
मर्यादापालकको जिम्मा हुने संसद् भवनको सुरक्षामा पनि चुनौती देखिएको छ। सभाहलमा प्रवेशका लागि बाहिरको पर्खालमा दुईवटा गेट राखिए पनि जोडिएको छैन। संसद् सचिवालयका लागि एउटा कोठामा तीनवटा कुर्सी राखेर सञ्चालन गरिएको छ तर सचिवालयको बोर्ड टाँसिएको छैन।
प्रदेश कार्यालय व्यवस्थापन समितिले आइतबारको बैठक सञ्चालन हुने गरी तयारी गरेको जनाएको छ। कार्यालय व्यवस्थापन समितिका सदस्यसचिव तथा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले माघ ४ गतेदेखि सबै निकाय खटाउँदा पनि काम नभ्याएको बताए।