काठमाडौं, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको देशभर आंशिक प्रभाव परेको छ । ।उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ ।
विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आह्वान गरिएको हो
नेकपामा नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।पोखरामा भने बन्दको प्रभाव छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा कुनै पनि गाडी आउजाउ गरेका छैनन् । सधैं व्यस्त रहने पर्यटकीय नगरी पोखरा आज बिहानैदेखि सुनसान छ ।
रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् ।दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन ।सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।
भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । हिले–भोजपुर सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरू पनि खुलेका छैनन् । गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ । बन्दको चितवनमा आंशिक प्रभाव परेको छ । जिल्लामा लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् भने ट्रकहरु मात्रै चलेका छन् । यस्तै नवलपुरमा पनि बन्दको आंशिक प्रभाव परेको हाम्रा संवादाता मिना कण्डेलले बताईन् ।