काठमाडौं, बैशाख ६ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष जननेता मदन भण्डारीको नाम बाट स्थापित मदन भण्डारी मेमोरियल कलेजमा भुकम्प पिडितको नाममा आएको करोडौको राहात सामाग्री अझै भुकम्प पिडितलाई वितरण नगरेको खुलेको छ ।
२०७२ बैशाख १२ को विनाशकारी भुकम्पपछि विभिन्न सहयोगी संस्थाहरुसँग भुकम्प पिडितलाई राहत वितरण गर्ने भन्दै मदन भण्डारी फाउण्डेशनले कलेजमा ल्याएर थुपारेको करोडौंको सामान कलेज भवनमा कुहिएर जान लागेको हो ।
भुकम्प पिडितको नाममा आएको खाद्यान्न, लत्ताकपडा, नुन, तेल, चिनीलगायतका सामान कुहिएर जान लागेको हो । भुकम्प पिडितको नाममा आएको ठूलो परिमाणको चिनी भने कलेज प्रशासनले कर्मचारीलाई चिया खुवाउने गरेको छ । करिब तीन वर्ष अघिदेखि थुप्रिएको कतिपय तेल लगायतका खाद्यान्न भने खान नमिल्ने गरी कुहिएको अवस्थामा रहेको कलेज स्रोतले बताएको छ । केही समय अघि भुकम्पपिडितकै नाममा आएको टिसर्ट, नुन, चिनी र तेल भुकम्प पिडित नरहेका कलेजकै कर्मचारीलाई वितरण गरिएको थियो ।
हजारौ भुकम्प पिडित अझै खुल्ला आकास मुनि चिसो रात बिताउन बाध्य छन् तर उनीहरुकै नाममा दातृसंस्था र मनकारी व्यक्तिले दिएको त्रिपाल भने कलेजको स्टोर कोठामा थन्किएको छ ।
ठूलो परिमाणमा रहेको सामान दुई ,तीन वटा कोठामा भरिभराउ राखिएको छ । भुकम्प पिडितलाई शुद्ध पानी सुविधाका लागि विभिन्न संस्थाले दिएको पानी छान्ने फिल्टर कलेज रिसेप्सनकै पछाडिपट्टि अलपत्र फालिएको छ । भुकम्प प्रभावित जिल्लाका पिडितलाई वितरण गर्न दातृसंस्थाले दिएको सामान कलेजका पहुचवालाले लुकिछिपी मनलाग्दी वितरण गर्ने गरेको पाइएको छ । यसअघि, कलेज प्रमुख डम्बर बहादुर हमालले आफ्नो गृहजिल्ला डडेलधुरामा केही सामाग्री आफन्तहरुलाई वितरण गरेका थिए । तर डडेलधुरा जिल्ला भुकम्प प्रभावित जिल्ला होइन् ।
भुकम्प प्रभावितहरु अझै दुख र पिडामा तडपिरहेका बेला पिडितको नाममा आएको राहत समाग्री माथिको मनलाग्दी गर्नेहरुले जननेता मदन भण्डारीको नाममा दाग लगाउने प्रयास गरेको कलेजकै कर्मचारीहरुले गुनासो गर्ने गरेका छन् ।