काठमाडौं, २६ असार । करिब तीन महिना अघिको ३३ किलो सुन काण्डबारे सरकारी छानविन समितिले तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।
समितिले सुन तस्करबारे छानविन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर बनेको उक्त सुन काण्ड टुगोमा नपुग्दै सेलाएके छ । उक्त प्रतिवेदनबारे अहिले सबै तै चुप मै चुप भएका छन् ।
आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको समाचारमा सुन काण्डमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको समाचार छ ।
समितिले ३ सय भन्दा धेरैको थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको सार्वजनिक भएको छ ।
सत्तापक्ष र विक्षी दलका केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको भनाई छ ।
टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।
यसअघि गृहमन्त्री राम बहादुर थापाले आफूहरु ठूला माछाको नजिक पुगेको बताउने गर्थे । तर प्रतिवेदन बुझाइएपछि उनी पनि मौन छन् ।
यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको स्रोतको दाबी छ ।
पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको बयानका क्रममा दाबी गरेका थिए ।