काठमाडौं, केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
ओली नेतृत्वको सरकारले सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई उपलब्धि भएको बताएको छ ।
नारायणगढ मुग्लिन सडक स्तरोन्नती, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । सरकारले ५ महिनामा ९० वटा तुइन विस्थापित गरेको जनाएको छ ।
नागढुंगामा सुरुङ मार्ग निर्माण सरकारले आफ्नो उपलब्धी ठानेको छ ।
भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले उपलब्धी भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम भन्दै ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।