काठमाडौं, १८ फागुन ।
कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच घूस लिएको रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । सेवाग्राहीबाट हाकाहाकी घूस लिने उनीहरुबीच कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।
आजको कान्तिपुरमा प्रकाशित खबरअनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको कैलाली प्रहरीले बताएको छ । पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए । कुटाकुट हुदा कर्मचारी पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ ।
प्रहरीे टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । तर यीमध्ये नापी र मालपोतका कर्मचारी को को हुन भन्ने खुलेको छैन ।
एक सातासम्म उठेको रकमका विषयमा कुरा नमिलेका कारण कुटाकुट भएको एक कर्मचारीले बताएका छन् । होलीका दिन मालपोतको एउटा कोठामा बियर र मदिरा सेवन गर्दै हिसाबकिताब गर्न थालेपछिनापीका कर्मचारीले उठाएको घूस रकम दिन नमानेपछि कुटाकुट भएको कर्मचारी स्रोतको भनाइ छ ।
पक्राउ परेका कर्मचारीका विषयमा प्रहरीले धेरै कुरा लुकाएको मालपोत कार्यालयका एक कर्मचारीको आरोप छ ।
