
काठमाडौं, १८ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राजस्वबाट दैनिक करोडौं रुपैयामा लूट मच्चने गरेको छ । कर्मचारी र उद्योगी–व्यापारीबीचको मिलेमतोले राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको आजको नागरिक दैनिकमा खबर छ ।
चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन शुक्रबार मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो ।
मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए ।
तर नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरूलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा ३५ करोड रुपैयाँ बढी हो ।
यो तथ्यांकको आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यले दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको खुलेको हो ।
यो तथ्यांक अनुसार वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ । एक वर्षमा ३६५ दिन हुने भए पनि भन्सार कार्यालय ३५० दिन खुल्छन्।् ।
